
दैलेख जेठ १८ ।
दैलेखका कोरोना संक्रमणको दर बढ्दै गएसँगै चुनौती पनि बढ्दै गएको छ । छिमेकी मुलुक भारतबाट आउने बेलादेखि जिल्लाभित्र निर्माण गरिएका क्वारेनटाइनमा समेत असुरक्षा बढेका कारण संक्रमणको दर एकाएक बढेको छ ।
आइतबार बिहान सम्म मात्र दैलेखमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । एकजनाको क्वारेनटाइनमै मृत्यु भैसकेको छ । कर्णालीमा कुल संख्या १२३ पुगेको छ ।
४ नगरपालिका र ७ गाउँपालिका रहेको दैलेखका अधिकांश विद्यालयहरू अहिले भरिसकेका छन् । भारतबाट जिल्ला भित्रनेहरूको संख्या ७ हजार बढी पुगेपछि निर्माण गरिएका क्वारेनटाइन मापदण्ड अनुसारका नभएका र कोहलपुरबाट दैलेख सम्म आउने क्रममा अव्यवस्थित रूपमा यात्रा गरेका कारण एकले अर्कोमा सजिलै कोरोना संक्रमण फैलिएको अनुमान गर्दै उच्च सुरक्षा अपनाउन थालिएको छ ।
अहिलेसम्म संक्रमित भएका ४७ जना सबै व्यक्तिहरू भारतबाटै आएका र जिल्लाका विभिन्न स्थानहरूमा निर्माण गरिएका क्वारेनटाइनमा बसेकाहरू मात्र रहेकाले संक्रमण क्वारेनटाइन भित्रै फैलिन सक्ने भन्दै व्यवस्थित बनाउन बारम्बार सबैलाई आग्रह गरिएको नेपाल मानव अधिकार सङ्गठन दैलेखका अध्यक्ष दिर्घराज अधिकारीले बताए । संक्रमण फैलिनुमा कोहलपुर देखि अनियन्त्रित रूपमा मानिसहरू कोचाकोच गरेर गाडीमा ल्याउनु, क्वारेनटाइन भित्र बस्नेहरु आचरणमा बस्न नसक्नु, हुल बाँधेर बस्नु, एउटा कारण हो भने प्रदेश सरकारले सुर्खेततिरै चेकजाँच गरेर पठाउन नसक्नु , जिल्ला आएपछि पनि स्थानीय सरकारले आफ्ना नागरिकहरू कति जना विदेश गएका छन् भनेर तीन वर्षसम्म तत्थ्याँक राख्न नसक्नु र सोही अनुसार व्यवस्थापन नगर्नुले अहिले क्वारेनटाइन कोरोना उत्पादन केन्द्र बन्न सक्ने सम्भावना बढेको अधिकारीले गुनासो गरेका छन् ।
नेपाल पत्रकार महासंघ दैलेख शाखाका अध्यक्ष चक्र के.सी.ले समेत प्रदेश सरकारले धमाधम मानिसहरु गाउँमा पठाउने काम गर्नुभन्दा व्यवस्थित गर्नुपर्नेमा गल्ति गरेका कारण कोरोना गाउँगाउँमा पुगेको र अहिले समस्या उत्पन्न भएको बताए ।
तत्कालै क्वारेनटाइनमै बसेकाहरुको आरडिटी र स्वाब संकलनको रिपोर्टका आधारमा सुरक्षित रूपमा होम क्वारेनटाइनमा पठाउनुपर्ने र घरमै सुरक्षित वातावरण तयार गर्नुपर्ने जिल्लाका अन्य नागरिकहरूको सुझाव छ ।
उपचारमा पनि चुनौती ः
कोरोना संक्रमित बिरामीको उपचारका लागि दैलेखको सरस्वती मा.बि.तर्तागंमा निर्माण गरिएको आइसुलेसन अस्पताल भरीसकेको छ । ३० बेडमा बिरामीको उपचार भइरहेको छ । आज सङ्क्रमण देखिएका १७ जनाको पुष्टि भैसकेको भए पनि व्यवस्थापन गर्न चुनौती थपिएको छ ।
४० बेड तयारी भैसकेको र अन्य तत्काल तयारी थाल्दै उपचारको पहल सुरु भएको छ । एक सय जना सम्मको उपचार गराउन मिल्ने गरी तर्ताङ्गमै व्यवस्थापनको काम अघि बढाइएको स्वास्थ्य सेवा कार्यालय दैलेखका व्यवस्थापन समिति अध्यक्ष लोमन शर्माले जानकारी दिएका छन् । तर्ताङ्गमा रहेको बृद्धाश्रम र नारायण क्याम्पसलाई बैकल्पीक आइसुलेसन अस्पतालको लागि तयारी थालिएको शर्माको भनाई छ ।
संक्रमित मध्ये सबैभन्दा धेरै नारायण नगरपालिकाका
नारायण नगरपालिका दैलेख जिल्लाको जिल्ला सदरमुकाम भएको र भारतबाट आएका अधिकांश व्यक्तिहरूलाई दैलेखको नारायण क्याम्पसमा जम्मा गरेर राखियो त्यसपछि सम्बन्धित पालिकाहरुमा लगियो त्यसैले पनि नारायण नगरपालिका भित्र जोखिम बढ्दै गएको छ ।
पछिल्ला ४८ संक्रमित मध्ये एक जनाको मृत्यु भैसकेको छ भने नारायण नगरपालिका विभिन्न वडाका मात्रै ४० जना संक्रमित देखिएका छन् । यसले नारायण नगरपालिकालाई भनै जोखिम बढाएको छ ।









